१. जताततै देखिएको निराशाको दलदलमा नडुब्नुस्। हरेक बादलको चाँदीको घेरा हुन्छ। हरेक परिस्थितिमा अँध्यारोबाट उज्यालोमा जाने बाटो हुन्छ।
२. आफ्नो परिस्थितिलाई राम्ररी बुझन र स्पेसिफिक रूपमा आँफुलाई प्रत्यक्ष असर गर्ने कुराहरुबारे सोच्न मात्र समय लगाउनुस्।
३. हरेक कुरा लगेर राजनीतिमा ठोकाएर त्यसैलाई दोष दिएर नेताहरुलाई गाली गरेर नबस्नुस्। प्रत्यक्ष रूपमा तपाइँलाई वा मलाई वा ९९.९९९% नेपाली जनतालाई ओली वा देउबा वा प्रचण्ड वा अरु कोही - जो सुकै प्रधानमन्त्री बने पनि फरक पर्दैन।
४. राजनीति बारे चेतना आवश्यक छ, तर राजनीति र समाज सेवा भन्दा पहिला आवश्यक छ आफ्नो खुट्टामा उभिनु। जस्ले तपाईंलाई सक्षम बन्न मद्दत गर्छ उस्का पछि लाग्नुस्, तपाइँलाई मेरो भाई भन्दै रक्सी खुवाएर ठूलो मान्छे बनाईदिएर चुनावमा दौडाउनेका पछि नलाग्नुस्।
५. युवाहरुले राजनीति नगरि हुँदैन, तर राजनीति गर्ने नै हो भने आफ्नो ज्यान आँफै पाल्न सक्ने भएर, कुनै नेताका गुलाम हुन नपर्ने गरि र आफ्नो ठाउँका समस्या बुझेर त्यस्का लागि लड्न सक्ने गरि राजनीति गर्नुस्।
६. दिनदिनै उभिँदा पनि र बस्दा पनि ऋण थपिने गरि राजनीति नगर्नुस्। राजनीतिले समाज र देश बनाउने हो, जस्ले तपाइँ आँफुलाई र तपाइँ परिवारलाई बिगार्छ, त्यस्तो राजनीतिले कसरी समाज र देश बनाउँछ?
७. आँफुलाई सक्षम बनाउन डटेर खटेर र प्यासनका साथ लाग्नुस्। आफ्नो अवसरको लागि, आँफुलाई प्यासन भएको क्षेत्रमा लाग्नका लागि, आँफु सफल हुन चाहिने सीप सिक्नका लागि, सही संगत बनाउनका लागि र नेटवर्कका लागि जिद्दी बन्नुस्। कसैका कुरा नसुन्नुस्, जसरी पनि गरेर देखाउनुस्।
८. धेरै कुरा बिग्रेको छ, सत्य हो। तर ईतिहासमै आजभन्दा पहिला युवाहरुको हातमा यसरी अवसर सिर्जना गर्न सक्ने साधन, ईको सिस्टम र ज्ञान कहिल्यै थिएन।
९. आजका युवाहरुले अठोट बनाउने र आँफुलाई इस्पातको मन भएको बनाउन सक्ने हो भने आज जति सजिलो कहिल्यै थिएन। सजिलो आज पनि नहोला, तर यो भन्दा अघि धेरै धेरै गाह्रो थियो भन्ने स्वीकार्नुस्। मान्छे पढ्नका लागि मात्र कति संघर्ष गर्थ्यो, बाँच्नका लागि मात्र गाह्रो थियो।
१०. टीम बनाउनुस्, विनम्र भएर सिक्ने बानी बनाउनुस्। कामबाट बाहेक अन्य केहीबाट काम सिकिँदैन, काममा सामेल हुनुस् र सक्षम बन्नुस्!
शुभकामना
0 Comments